भारतमा जुम्ल्याहाका नाम कोरोना र कोभिड राखियो |
भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको छ ।
ती जुम्ल्याहा बालक र बालिका भारतमा जारी लकडाउनको समयमा जन्मिएका हुन् । उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन् ।
“हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।“ उनले आफूलाई मार्च २६ तारिखका दिन बेथा लागेको बताएकी छन् ।
लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको उनले भारतीय सञ्चारमाध्यमलाई बताएकी छन् । उनले मार्च २७ मा जुम्ल्याहा जन्माएकी थिइन् ।
“यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ ।“
अस्पतालका कर्मचारीलेहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् ।
ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका थिए ।
उक्त अस्पतालका जनसम्पर्क अधिकारीले आमा र सन्तान दुवै हालै डिस्चार्ज भएको र उनीहरूको अवस्था राम्रो रहेको जानकारी दिएका छन् ।


