दिल्लीबाट फर्किएको ४७ दिनपछि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो |
विराटनगर । भारतको नयाँ दिल्लीमा आयोजित तबलिगी जमातमा सहभागी भएर फर्किएका एक पुरुषमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ ।
झापा बाह्रदशी–४ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चार दिनअघि परीक्षण गर्दा उनको शंकास्पद रिपोर्ट आएपछि आइतबार कोशी अस्पताल, विराटनगरमा पुन परीक्षण गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापामा उपप्रमुख जीवन चौलागाईले जानकारी दिए ।
उनी मुस्लिम धर्मगुरू हुन् र, दिल्लीको निजामुद्दीनमा भएको धार्मिक सभामा सहभागी भएर २७ फागुनमा दिल्लीबाट ट्रेन र बस चढेर घर फर्किएका थिए ।
आइतबार नै वीरगञ्जमा पनि दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
यससँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । उनीहरु मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।



