सनसिटी अपार्टमेन्टका २ जनालाई कोरोना संक्रमण पुष्टि, एक जनाको पुनः परीक्षण गरिँदै | अर्थमन्त्री खतिवडा सनसिटी जानुभएको थिएन ː प्रेस संयोजक पौडेल
काठमाडौं । र्यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पताल र प्रधानमन्त्रीनिवास बालुवाटार स्रोतले जानकारी दिएका छन् ।
अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ ।
अर्थमन्त्री खतिवडा सनसिटी नगएको भनाई
अर्थमन्त्री युवराज खतिवडा केहीदिनअघि सनसिटी अपार्टमेन्ट गएको र संक्रमितसँग त्यतिखेर भेट भएको भन्ने खबर साँचो नभएको खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताएका छन् ।
खतिवडाका छोरा सनसिटी अपार्टमेन्टमा बस्ने र केही समयअघि त्यहाँका बासिन्दाहरू आन्तरिक समितिको चुनावमा उनी सचिवमा निर्वा्चित भएका थिए ।
निर्वा्चितहरूलाई बधाई दिने कार्यक्रममा अर्थमन्त्री खतिवडा पनि गएको र त्यहाँ संक्रमितहरूसँग पनि उनको भेट भएको कतिपय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
‘अर्थमन्त्रीको छोरा सनसिटीमा बस्नुहुन्छ, तर योबीचमा उहाँ सनसिटी गएको भन्ने कुरा झूटो हो,’ उनले भने,‘उहाँ एकदमै अनुशासनमा बस्ने व्यक्ति हो । अफिस र घरबाहेक अर्थमन्त्री कहीँ जानु भएको छैन । बाहिरका मानिससँगको भेट अत्यन्तै सीमित छ ।’
चैत पहिलो साता लन्डनबाट आएका कोरोना संक्रमितहरूले अर्थमन्त्री खतिवडालाई कहिले र कहाँ भेटेका हुन् भन्ने खुलेको छैन ।
तीन जना कोरोनाको आशंका देखिएपछि झन्डै पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई सोमबारदेखि सिल गरिएको छ ।
उक्त अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ ।


