जालिम मुखियाको स्वाब परीक्षण, होम क्वारेन्टाइनमा बस्न निर्देशन |
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएरनभएको पुष्टि गर्न पर्साको जगन्नाथ गाउँपालिकाका अध्यक्ष जालिम मुखियाको स्वाब परीक्षण गरिने भएको छ ।
सोमबार चिकित्सकहरूको टोली उनको घरमा पुगेर अध्यक्ष मुखियासहित उनको परिवारका दर्जन बढी सदस्यको स्वाब संकलन गरेर ल्याएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
‘उहाँ र परिवारका सदस्यको स्वाब संकलन गरिएको छ,’ बस्नेतले भने,‘नतिजा नआएसम्म उहाँलाई हामीले होम क्वारेन्टाइनमै बस्न भनेका छौं ।’
यसअघि प्रशासनले जगन्नाथपुरका विभिन्न मस्जिदमा रहेका १५ जना मौलवीहरूलाई नियन्त्रणमा लिएको थियो । ती मौलवीहरू दिल्लीको निजामुद्दिनमा भएको धार्मिक सभामा सहभागी भएर आएको प्रशासनको बुझाइ छ ।
प्रहरीले जगन्नाथपुरबाट ल्याएकामध्ये २ जनालाई वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ भने बाँकी १३ जनालाई रौतहट र बाराको क्वारेन्टाइनमा पठाइएको छ ।
उनीहरूको घर नै बारा र रौतहट भएकाले सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा पठाएको सहायक सिडिओ बस्नेतले जानकारी दिए ।
‘भारतबाट आएका मौलवीहरूसँग सम्पर्क भएको हुन सक्ने ठानेर हामीले गाउँपालिका अध्यक्षको स्वाब परीक्षण गर्न लागेका हौं,’ सहायक प्रजिअ बस्नेतले भने ।
यसअघि वीरगन्जको छपकैयामा बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।


