एकै परिवारका तीन जनामा कोरोनाको एन्टीबडी देखिएपछि पाटन अस्पताल भर्ना | तीन हप्ताअघि लण्डनबाट आएका थिए तीनै जना
काठमाडौं । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा कोरोना संक्रमण भएको संभावना देखिएको छ । अहिले उनीहरु लाई पाटन अस्पताल भर्ना गरिएको छ ।
झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्याापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको थियो । अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए ।
’उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने । तीनजनामध्ये बुवा, आमा र छोरी छन् । उनीहरु सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । उनीहरु गत चैत पहिलो साता नेपाल आएका थिए ।
सरकारले गत चैत महिनामा विदेशबाट उपत्यकामा आएका सबैको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने भनेको थियो ।
साथै यो किट्ले परीक्षण गर्दा कोरोना संक्रमणको संभावना देखिएपछि त्यसलाई फेरि पिसिआर विधिबाट पुनː परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाटन अस्पतालले तीनै जनाको पिसिआरबाट परीक्षण गर्ने तयारी गरिरहेको छ ।
कहिलेकाही किट्ले कोरोनाको भाइरसविरुद्ध लड्ने एन्टीबडी शरीरमा देखाए पनि कोरोना भाइरस नहुन सक्छ । बागलुङकी एक महिलाको परीक्षणमा किट्ले पोजेटिभ देखाएको थियो भने पिसिआरले परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।
कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरुद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ । एन्टीबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टीबडी कायमै रहन्छ ।
त्यसैले कहिलेकाही डाइग्नोस्टिक टेष्टले परीक्षणमा एन्टीबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ । शरीरमा एन्टीबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ ।


