राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी |
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो ।
तर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारीले बाजी मारे ।
आजभन्दा पाँच वर्षअघि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनैलाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम गभर्नरको लागि सिफारिस भएको थियो । सिफारिसकर्ता थिए तत्कालीन अर्थमन्त्री डा. रामशरण महत । एक डेपुटी गभर्नर सहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्नै पर्ने प्रावधान अन्तर्गत उनको पनि नाम सिफारिस भएको थियो ।
तर, त्यतिबेला डा. चिरञ्जीवी नेपाल गभर्नरको बाजी मारेका थिए ।
त्यतिबेला डा. नेपाल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । प्रधानमन्त्री हाबी हुने गभर्नरको नियुक्ति प्रकृयामा त्यतिबेला नेपालले नै बाजी मारेपछि अधिकारीको गभर्नरको दौड केही समयको लागि रोकियो । उनको डेपुटी गभर्नरको पद बाँकी नै थियो । गभर्नरका प्रतिस्पर्धी नेपालसँगै दुई वर्ष काम गरेर अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिए ।
तिनै अधिकारीले त्यसको पाँच वर्षपछि अहिले गभर्नरको दौडमा बाजी मारेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले उनै अधिकारीलाई अबको पाँच वर्षको लागि राष्ट्र बैङ्कको नयाँ गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गर्यो ।
को हुन् अधिकारी ?
नवनियुक्त गभर्नर अधिकारीको जन्म पूर्वी पहाडी जिल्ला खोटाङको सिमपानीमा विसं. ०२० सालमा भएको हो । औपचारिक शिक्षाको सुरुवात खोटाङमै गरेका उनी उच्च शिक्षाका लागि काठमाडौं आए ।
पढाइसँगै रोजगारी खोज्नुपर्ने बाध्यताका कारण काठमाडौं आएलगत्तै उनलाई जागिरको चिन्ताले सताउन थाल्यो । गाउँबाट भर्खर काठमाडौं छिरेका उनलाई बिरानो सहरमा बसेर आफ्नो लक्ष्य पूरा गर्न पनि एउटा दिगो जागिरको आवश्यकता थियो । जागिर खोज्ने क्रममा ०४० को दशकको सुरुवात तिरै राष्ट्र बैंकमा जागिर खुलेको थाहा पाए । पहिलेदेखि नै पढाइमा तीक्ष्ण स्वभावका अधिकारीले वि.सं. ०४२ सालमा राष्ट्र बैंकमा सहायक स्तरको पदमा नाम निकालेर सरकारी सेवाको सुरुवात गरे ।
अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् ।
जुन संस्थामा उनी एउटा सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए । सोही संउस्थाको सर्वोच्च पदमा ३४ वर्षपछि अधिकारी फेरि फर्किएका छन् । ०४२ सालमा सेवा सुरु गरेपछि पनि उनले आफूलाई त्यसैमा सीमित राख्न चाहेनन् । सहायकस्तरबाट सेवा सुरु गरेका उनले वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती हुन सफल भए । ५ वर्ष ३ महिना उपनिर्देशकका रुपमा सेवा सम्पन्न गरेपछि उनी ०५६ मा निर्देशक पदमा बढुवा भए ।
निर्देशकमा नौ वर्ष ६ महिना बिताएका उनी ०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनामा अर्थात् ०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो ।
विसंई २०६५ सालमा कार्यकारी निर्देशक बनेका उनी सन् २०१० मा भने डेपुटी गभर्नरमा नियुक्त भएका थिए । विभिन्न पदमा गरी तीन दशक राष्ट्र बैङ्कमा बिताएका अधिकारी नेपालको वित्तीय क्षेत्रका एक जानकार व्यक्तिको रुपमा चिनिन्छन् ।
डेपुटी गभर्नर छँदै गभर्नरका लागि सिफारिसमा परेका उनले गभर्नरको लागि भने एक कार्यकाल कुर्नु पर्योर। डा. नेपाल गभर्नर बनेपछि पनि उनले विभिन्न सरकारी निकायमा रहेर सेवा गर्ने अवसर पाएका थिए ।
उनी ०७३ सालमा राष्ट्र बैंकबाट बाहिरिएका हुन् । त्यसको तीन वर्षमा नै उनले फेरि राष्ट्र बैङ्कको जिम्मेवारीमा फर्किने अवसर पाएका हुन् । राष्ट्र बैङ्कबाट निस्किएपछि सरकारले उनलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
Visited 1 times, 1 visit(s) today


