प्रम ओलीले गरेको घोषणा कार्यान्वयन गर्न मुख्यसचिव नेतृत्वको कार्यदललाई निर्देशन |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा रहेको कार्यदललाई निर्देशन दिइएको छ ।
शुक्रबार बसेको कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रधानमन्त्री ओलीले घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक रहेको कार्यदललाई निर्देशन दिएको हो ।
अर्थ र सञ्चार तथ सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीले सम्बोधनमा भनेका विषयहरुका विषयमा बैठकमा स्पष्ट पारिएको र कार्यान्वयनको तालिकासहित अघि बढाउने छलफल भएको बताए ।
मन्त्री खतिवडाले १० गतेबाट लामो दुरीका यातायात सेवा बन्द हुने भनेपनि आपूर्तिसँग सम्बन्धित कुनै पनि सेवा अवरुद्ध नहुने बताए ।
अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकरी निर्णयपछि विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नागरिकहरुलाई सम्बन्धित देशमा रहेका नेपाली दूतावास मार्फत १४ दिन क्वारेन्टाइनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै प्रम ओलीले चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने, चैत ९ देखि चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने, चैत १० गतेदेखिबाट लामो दूरीको यात्रुबाहक यातायात सेवा बन्दगर्ने लगायतका घोषणा गरेका छन् ।


