१० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी साधन चलाउन रोक | छोटो र मध्यम दूरीका यात्रुबाहक सवारी भने चल्न पाउने
 
                                                                    
                                                                
	काठमाडौं । सरकारले चैत १० गतेदेखि लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिबन्ध घोषणा गरेका हुन्, जसमा चैत १० गतेदेखि लामो दुरीमा चल्ने सबै प्रकारका यात्रुबाहक सवारी सञ्चालनमा रोक पनि समावेश छ ।
	‘यो संक्रमण मान्छेहरुको आवतवाजतबाट फैलिने डर हुने भएकाले लामो दुरीको सवारी रोक्ने भनिएको छ, तर आपूर्ति सेवासँग सम्बन्धित कुनै पनि ढुवानी रोकिँदैन सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने ।
	यस्तै, चैत ९ गते देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरिएको छ । आन्तरिक उडानहरु भने रोकिएको छैन । अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्दा बाटोमा अलपत्र परेकाहरू नेपाली नागरिकहरुलाई सम्बन्धित देशमा रहेको दूताबासले सुरक्षित क्वारेन्टाइनमा राख्ने तयारी छ ।
	सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
	यसैगरी चैत ९ देखि २१ सम्म अत्यावश्यक बाहेक सबै कार्यालयबाट दिइने सेवा बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।
	खतिवडाकाअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको योजना बनाउन मुख्यसचिव नेतृत्वको कार्यान्वयन समितिलाई निर्देशन दिएको छ ।
	छोटो र मध्यम दूरीका सवारीसाधन  सञ्चालनमा आउने 
	छोटो र मध्यम दूरीका सवारीसाधन निर्वाध सञ्चालनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए । 
यातायात व्यवस्था विभागले २२५ किलोमिटरसम्म छोटो दूरी, २५० किलोमिटरसम्मको मध्यम र २५० भन्दा माथिलाई लामो दूरी गरी विभाजन गरेको छ ।
ढकालले मध्यम र छोटो दूरीमा केही दिनयता नै कोरोना भाइरसको त्रासका बीच बढी भाडा लिने गरेको गुनासो आएको भन्दै चेकजाँच कडा पारिएको बताए ।

 
                                                                     
                                                                    