कफी र पश्मिनाको प्रवर्द्धन गर्न युरोपियन युनियनले ८० लाख युरो सहयोग गर्ने |
काठमाडौं । नेपालमा उत्पादन हुने कफी र पश्मिनाको प्रवर्द्धन तथा बजारीकरणका लागि युरोपियन युनियनले ८ मिलियन युरो अर्थात ९१ करोड ९३ लाख १२ हजार रूपैयाँ सहयोग गर्ने भएको छ ।
युरोपियन युनियनले ‘व्यापार तथा लगानी’ परियोजना सञ्चालन गरी कफी र पश्मिनाको बजारीकरण गर्ने भएको हो । नेपाल सरकारको व्यापार प्रवर्द्धन रणनीतिलाई सहयोग गर्नु परियोजनाको प्रमुख उद्देश्य रहेको परियोजना म्यानेजर मिम हमालले बताए ।
यस परियोजनाले व्यापार वृद्धि गर्न तथा क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा नेपाली उत्पादनको सहभागिता बढाउन सहयोग गर्नेछ ।व्यापार प्रवर्द्धन रणनीति अनुरूप नेपाल सरकारले नेपालबाट निर्यात गर्न सकिने १२ वटा वस्तुको छनोट गरेको छ । यी वस्तुमा वैदेशिक लगानी भित्र्याउन समेत परियोजनाले सहयोग गर्ने छ ।
यस परियोजनामा वाणिज्य मन्त्रालयले सहकार्य गर्नेछ । कसरी काम गर्ने भन्ने विषयमा कार्य योजनाका लागि सरोकारवालासँग छलफल भइरहेको म्यानेजर हमालले बताए ।
उनका अनुसार वाणिज्य सचिव वैकुण्ठ अर्याललको अध्यक्षतामा परियोजना निर्देशन समिति गठन गरिएको छ। उक्त समितिले कार्ययोजना स्वीकृत गरेपछि काम सुरू हुने छ ।
यो प्रोजेक्टको अवधि ४ वर्षको छ । यो सहयोगले विशेषगरी कफी र पश्मिना क्षेत्रको गुणस्तरीयता, बजारीकरण र आयातमा सघाउ पुर्याोउने वाणिज्य सचिव वैकुण्ठ अर्यालले बताए ।
आइटिसी एक्टिङका कार्यकारी निर्देशक डोरोथी टेम्बोले उक्त फन्ड साना तथा घरेलु उद्यमलाई सुधार गरी उत्पादन तथा व्यापार वृद्धिमा केन्द्रित हुने बताइन् ।


