शनिवार काठमाडौँमा ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुँदै, लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने |
काठमाडौं । खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीद्वारा प्रायोजित ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने भएको छ । भोली पुस १२ गते शनिवारको दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म काठमाडौँस्थित मल्ल होटेलमा उक्त महोत्सव आयोजना हुन गइरहेको हो ।
नेपाली युवाहरुलाई खुकुरी रमका विभिन्न स्वादसँगै मनपर्ने संगीतकारहरुको प्रत्यक्ष प्रस्तुति अनुभव दिलाउने उद्देश्यले यस सांगीतिक महोत्सवको आयोजना गर्न लागिएको हो । कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहने छ ।
पहिलो पटक आयोजना हुन गइरहेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एण्ड स्पार्क, पहेँलो बत्ति मुनि तथा ५ː५५ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ भने डिजे फिन्जोक, डिजे बिकी कुल, डिजे बीपीएम, डिजे विधान, डिजे नील, डिजे मनिष र डिजे पल टेन जस्ता चर्चित डिजेहरुले पनि आफ्नो संगीत प्रस्तुत गर्नेछन् ।
यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामले स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो । खुकुरी सांगीतिक महोत्सव जस्तो वृहत् महोत्सव आयोजना गर्न गइरहेको भने यो पहिलो पटक हो । कम्पनीले यो महोत्सवलाई यस वर्ष प्रायोजन गर्ने जानकारी दिएको हो ।



