जनमैत्री बहुमुखी क्याम्पस ‘क्यूएए’ सर्टिफाइड | जिम्मेवारी र चुनौति दुवै थपियो ː क्याम्पस प्रमुख
काठमाडौं । जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको क्याम्पसले जनाएको छ ।
क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययनअध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको क्याम्पसले जनाएको छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख भोला ओझाले उक्त प्रमाणपत्रले क्याम्पसलाई भन्दा पनि विद्यार्थीलाई बढी लाभ हुने बताए।
उच्च शिक्षाको लागि विद्यार्थी विदेश जाँदा त्यहाँका कलेज पनि क्यूएए सर्टिफाइड कलेजलाई महत्व दिने भन्दै विद्यार्थीले पनि यसबाट प्रत्यक्ष लाभ लिन सक्ने उनले बताए। क्यूएए प्राप्त गरेपछि जनमैत्री बहुमुखी क्याम्पसलाई जिम्मेवारी र चुनौति दुवै थपिएको क्याम्पस प्रमुख भोलानाथ ओझाले बताए । क्याम्पस २०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित भएको हो ।
‘क्यूएए एउटा ब्राण्ड हो यसले विद्यार्थीलाई गौरवान्वित महशुस गराउँछ’, उनले भने । क्यूएए पाएपछि क्याम्पसलाई थप जिम्मेवारी र चुनौती थपिएको भन्दै अबका दिनमा बजारलाई चाहिने विद्यार्थी उत्पादन गर्ने कलेजले प्रतिवद्धता व्यक्त गरेको छ ।
बजारको मागअनुसार विषय थप गरी रोजगारमूलक शिक्षामा जोड दिने क्याम्पसले जनाएको छ । ‘आगामी पाँच वर्षभित्र सरकारले रोजगार दिनेभन्दा पनि स्वरोजगार विद्यार्थी उत्पादन गर्नेछौं’, उनले भने ।
आयोगले जनमैत्रीसहित बनेपाको काभ्रे बहुमुखी क्याम्पस, ललितपुरको जनभावना, महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसले क्यूएए प्रमाणपत्र दिएको हो।
अनुदान आयोगका अनुसार हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजीस्तरका ४० वटा शैक्षिक संस्थाले क्यूएए प्रमाणपत्र पाइसकेका छन् ।


