ग्लोबल आईएमई बैंक र जनता बैंकको एकीकृत कारोबार शुरु |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच दुई बैंकको संयुक्त कारोबारको शुभारम्भ गरे ।
एकीकृत भइसकेपछि ग्लोबल आईएमई बैंक पुँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।
बैंकको प्राथमिक पुँजी करिब २४ अर्ब रुपैयाँ (चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ र संचित कोष गरी), कुल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ ।
त्यस्तै ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्न सक्षम हुनेछ ।
कार्यक्रममा बौल्दै अर्थमन्त्री खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुन लागेको बताउँदै देशले अल्पकालिन मात्र नभएर मध्यकालिन र दीर्घकालीन लगानी मागिराखेको बताए ।
‘यसका लागि पनि ठूलो संरचना भएका वित्तीय संस्थाहरूको सञ्चालन सकारात्मक कुरा हो। यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरुले सिकुन्,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवि नेपालले बैैंक पुँजीलगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसै अनुरुप काम गर्न सुझाव दिए ।
‘यो ठूलो वित्तीय संस्था भयो, पूँजी र सबै हिसाबले। अब निक्षेपकर्ताहरूको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नुहोला। कुनै पनि संस्था ठूलो हुनुसँगै यसका चुनौतीहरु पनि बढ्छन् नै। त्यसैले खतरा या चुनौतीको व्यवस्थापनमा पनि ध्यान पुगोस,’ उनले भने, ‘बंैकहरूमा पछिल्लो समयमा धेरै कमजोरी देखिएका समाचार सुनिन्छ । यस्ता चुनौतीबाट बैंकलाई बचाउन डिजीटलाइजेसनमा बढी लगानी गर्नुपर्छ । यसका साथै आफ्ना कर्मचारीलाई समय सापेक्ष तालिम दिने, उनीहरूलाई अद्यावधिक गर्ने र सक्षम बनाउने काम पनि अघि बढाउनुपर्यो ।’
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको बताए ।
‘अब बैंकको लगानीको क्षमता बढेको छ सोही अनुरुप पूर्वाधारका क्षेत्रमा पनि लगानी बढ्नुपर्छ,’ उनले भने, ‘अब बैंकले उद्योगी व्यवसायीलाई कम ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकीकृत भइसकेपछि बैंकको पुँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमताको वृद्धि हुने, बैंकको वित्तीय, मानव(संशाधन, प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने बताए ।
उनले मर्जरपछि ग्राहकवर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज हुने बताए। मर्जर तथा प्राप्तीमा ग्लोबल आईएमई बैंकसँग लामो अनुभव भएको बताउँदै ढकालले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले मुलुकको अर्थतन्त्र र जनसंख्याको तुलनामा बैंक तथा वित्तीय संस्था बढी भएपनि मुलुकको विकासका लागि आवश्यक ठूला परियोजनामा वित्तीय लगानी गर्न नसकिने अवस्था रहेकोले सवल र सक्षम बैंक बनाउन मर्जरमा गएको बताए ।
बैंकको पुँजी तथा निक्षेपको आकार ठूलो भएसँगै अबका दिनमा देशमा ठूला आयोजना अघि बढाउन सहयोग हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूलाठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बजारमा निक्षेप परिचालनमा बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा वाणिज्य बैंकहरु एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बताए ।



