पाम आयलको निर्यात ९२५ प्रतिशतले वृद्धि |
काठमाडौं । चालु आर्थिक वर्ष २०७६∕७६ को सुरुवातदेखि नै नेपालको आयात घटिरहेको छ भने निर्यात बढिरहेको छ । आयात घट्नुमा सरकारले लिएका नीतिहरुको प्रभाव भए पनि निर्यात बढ्नुको प्रमुख कारण चाहिँ पाम आयल हो ।
अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक)मा ८ अर्ब २९ करोड रुपैयाँको पाम आयल नेपालबाट निर्यात भइसकेको छ । यो निर्यातको आंकडा गत आवको समिक्षा अवधिको तुलनामा ९२५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो ४ महिनामा ८१ करोडको पाम तेल निर्यात भएको थियो ।
पाम आयल नेपालको आन्तरिक उत्पादन होइन । इन्डोनेसिया, थाइल्याण्ड, मलेसियालगायत मुलुकबाट नेपालमा आयात हुने गरेको छ । सोही तेल भारतमा निर्यात हुन्छ । व्यवसायीहरु यसलाई ‘भ्यालू एड’ गरेको भन्छन् । तर, एकसाथ ठूलो परिणाममा नेपालमा आयात गरी त्यसलाई प्याकेजिङ गरी भारत निर्यात गर्ने गरिएको छ । यसले गर्दा नै आंकडामा निर्यातको हिस्सा धेरै देखिएको हो ।
यो नेपालमा कच्चा पदार्थ तथा रिफाईनरी प्रडक्टका रुपमा भित्रिन्छ । सोही पदार्थलाई नेपालमा प्रशोधन गरेर भारत निर्यात गरिन्छ । अघिल्लो आर्थिक वर्षको पछिल्लो महिनामा यस तेलको निर्यात आकाशिएको थियो, चालु आवको पनि शुरुवाती महिनाबाटै निर्यात बढेको छ । यसको मतलव २०७६ सालमा नेपालबाट निर्यात हुने पाम आयलको माग भारतमा बढिरहेको छ । आर्थिक वर्ष ०७४∕७५ मा पाम आयल १२ करोड ५८ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।
सूर्यमूखी र सोयाविन तेल जस्तै पाम आयलको प्रयोग दक्षिण एसियाली र अफ्रिकी मुलुकमा बढी छ । परिकारलाई लामो समयसम्म ताजा राख्न यसको प्रयोग गरिन्छ । यसको प्रयोग पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टीकलगायत सामाग्री बनाउन हुने गरेको छ ।
नेपालमा प्रतिलिटर एक सय रुपैयाँ भन्दा बढी पर्ने उक्त तेल विभिन्न खाद्य तेल उत्पादक कम्पनीले आयात गरी भारतमा निर्यात हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । भारतले आसियान मुलुकबाट पाम आयलको आयात घटाउने नीति लिएपछि भारतमा नेपालबाट पाम आयल निर्यात हुन शुरु गरेको हो ।
अघिल्लो वर्ष पुसमा भारतले आसियान मुलुकबाट भइरहेको आयात घटाउने नीति लिएको थियो । सोही कारण व्यवसायीले ती मुलुकबाट नेपालमा कच्चा पदार्थ आयात गरी यहाँबाट भारतमा निर्यात गर्न लागेका हुन् । भारतमा पाम आयलको उच्च माग रहेपछि त्यहाँ उत्पादन कम हुन्छ । सोही कारण भारतले पाम आयल आयात गरिरहनु परेको छ ।



