इयुहोफाको सम्मेलन आजबाट शुरु हुँदै, विश्वभरका ७० पर्यटनसम्बद्ध विज्ञ नेपालमा |
काठमाडौं । होटल स्कुल एसोसिएसन (इयुहोफा) को ५८औँ अन्तरराष्ट्रिय कङ्ग्रेस आजदेखि काठमाडौंमा शुरु हुँदैछ । डिसेम्बर १ सम्म काठमाडौँमा आयोजना हुन गइरहेको यो सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्दैछन् । सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको यस कार्यक्रम अर्को वर्ष डेनमार्कमा आयोजना हुँदैछ । नेपालले गर्न लागेको यस आतिथ्यता एसियामै पहिलोपटक हुन लागेको हो ।
पर्यटकीय मुलुक भइकन पनि नेपालमा पर्यटन तथा आतिथ्य सत्कारको औपचारिक अध्ययन शुरु भएको भएको केही दशक मात्र भएको छ । तर इयुहोफाको एउटा सदस्य इएचएल भनिने विश्वकै पहिलो आतिथ्य व्यवस्थापनको अध्ययन हुने विद्यालय सन् १८९३ मै स्विट्जरल्याण्डको लोजान शहरमा स्थापना भएको थियो । यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन् ।
काठमाडौँमा हुने ५८औँ कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित बरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन् ।
नेपालको आयोजना किन महत्त्वपूर्ण छ ?
अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नशामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर हो यो । त्यसबाहेक यो धार्मिक सहिष्णुणताको परिवेशमा यहाँका प्राकृतिक र धार्मीक धरोहरकाबिच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो ।
युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट शुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन। । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वा्चित भएसँगै यस आयोजनाको माहोल बनेको थियो ।



