यति एयरलाइन्सले जहाजबाट प्लाष्टिक कप हटायो |
काठमाडौं । यती एयरलाइन्सले आफ्ना सबै जहाजबाट प्लाष्टिक कप विस्थापित गरेको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लाष्टिक कपको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याएको छ ।
पेपरकपको उद्घाटन कार्यक्रममा सहभागी हुँदै युनएनडीपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताइन् ।
यती एअरलाइन्स नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएकोले विमानमा प्रयोग भइरहेको प्लाष्टिक कपलाई विस्थापित गरेको एअरलाइन्सका प्रवक्ता भिमराज राईले जानकारी दिए । प्लाष्टिक कप विस्थापन कार्य कार्वन न्युट्रल अभियानमा थप एक कदम रहेको बताउँदै प्लाष्टिकको सट्टा पेपर कपको प्रयोगले वातावरण सफा हुने र कार्वन उत्सर्जनमा कमी आउने उनको भनाइ छ ।
पेपर कपसँगै यती एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ । कार्वन न्युट्रलको अभियानमा यती एयरलाइन्सको यो थप प्रयास भएको राईले बताए ।
यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडीपि) सँग सहकार्य गरिरहेको छ ।


