चन्द्रागिरी हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तरराष्ट्रिय पुरस्कार |
काठमाडौं । काठमाडौंको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरी हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तरराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरी हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका थिए ।
सोही कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।
भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जीटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तरराष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । ती संस्थाहरूले हरेक वर्ष दक्षिण एसियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाइ सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरूलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् ।
पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै चन्द्रागिरी हिल्स लिमिटेडका सञ्चालक ढकालले यो पुरस्कार चन्द्रागिरी हिल्सले मात्र नभएर नेपालको सिंगो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए ।
उनले यसबाट अन्तरराष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकहरूको आगमनमा वृद्धि गर्न तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
चन्द्रागिरी हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केवलकार, रिसोर्टलगायतका विविध एकीकृत पर्यटकीय संरचनाहरूका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने भारतीय पर्यटकहरूको सङ्ख्या बढेको बताउँदै यस अवार्डले आफूलाई थप उत्साहित बनाएको महाप्रबन्धक शाहले बताए। महाप्रबन्धक शाहका अनुसार त्यहाँ अवस्थित भालेश्वर मन्दिर भारतीय धार्मिक पर्यटकहरूका लागि प्रमुख आस्थाको केन्द्रका रूपमा विकसित भइरहेको छ ।
नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भारतीय पर्यटकहरु प्रायː भालेश्वरमा पनि पुग्ने गरेका उनको भनाइ छ ।
काठमाडौंको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरीमा २०७३ सालमा केबलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरू निर्मित छन् ।
महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरीमा प्रत्येक दिन कम्तीमा दुई हजारदेखि दुई हजार ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।


