नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिँदै, २४ औं साधारणसभा सम्पन्न |
काठमाडौं । नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २४ औं साधारण सभाले सोमबार आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पारित गरेको हो । साधारणसभामा कोष सचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले आब २०७४÷७५ को प्रतिवेदन पेश गरेका छन ।
नागरिक लगानी कोषले लगानीको पोर्टफोलियो व्यवस्थापन गर्न विभिन्न संस्थाहरुसँग सहकार्य गरी परियोजनाहरुमा लगानी गर्ने भएको छ । कोषले सार्वजनिक निजी साझेदारी मोडेलमार्फत परियोजनामा लगानी गर्ने छ ।
कोषका अध्यक्ष भट्टराईले २४औं बार्षिक साधारणसभाका अवशरमा संस्थागत लगानीकर्ताको रुपमा विभिन्न आयोजनाहरुको शेयर, डिवेन्चर र बण्डमा लगानी गर्ने पनि बताए । पुँजी बजारसँग सम्बन्धित स्टक डिलर जस्ता कार्य गर्ने रणनीति अख्तियार गरिएको उनले जानकारी दिए ।
कोषद्वारा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई पनि सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने योजना उनले सुनाए । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई लक्षित गरी एकांक योजना तथा अन्य उपयुक्त बचत कार्यक्रमहरु संचालन गरिने उनले बताए ।
उनले पूँजी बजारलाई गतिशिल बनाउन बजार निर्माता÷स्टक डिलरको रुपमा कार्य गर्ने संस्था स्थापना वा संचालन गर्ने र पुँजी व्यवस्थापन गर्न सकिने सम्भावनाहरु रहेको बताए । कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा लगानी गरिने बताए ।


