सुनसरी इन्डस्ट्रियल पार्कबाट वाईवाईको उत्पादन शुरु |
विराटनगर । सुनसरीको गढी गाउँपालिकामा दुई वर्षअघि भएको शिलान्यास गरिएको चौधरी ग्रुप इन्डस्ट्रियल पार्क (सीजीआईपी) बाट वाईवाई चाउचाउ उत्पादन हुन थालेको छ ।
चौधरी ग्रुपका सञ्चार संयोजक मधुसूदन पौडेलले सुनसरीको सीजीआईपीबाट वाईवाईको उत्पादन शुरु गरिएको जानकारी दिएका हुन् । ‘प्रदेश नम्बर १ भरिको बजारलाई लक्षित गरेर सिजीआइपीले वाईवाई उत्पादन गर्न थालेको छ’, संयोजक पौडेलले भने, ‘अहिले प्रति दिन ४ लाख ५० हजार पाकेट वाईवाई तयारी चाउचाउको उत्पादन त्यहाँबाट भइरहेको छ ।’
सीजीआईपीमा पनि ७ थरीकै ब्रान्डका चाउचाउको उत्पादन जारी रहेको उनले जानकारी दिए । पौडेलका अनुसार मुलुकका सातै वटा प्रदेशमा इन्डस्ट्रियल पार्क बनाउने चौधरी ग्रुपको योजना छ । सोहीअनुसार प्रदेश नम्बर १ को पार्क वाईवाईको उत्पादनबाट सञ्चालनमा आएको हो । ‘खाद्य र पेय पदार्थमा हाम्रा थुप्रै उत्पादन छन्’, उनले भने, ‘पार्कमा उत्पादनको विस्तार क्रमशः हुँदै जानेछ ।’
गढी गाउँपालिकाका स्थानीय बासिन्दा मुन्नालाल चौधरीले इन्डस्ट्रियल पार्कमा वाईवाईको उत्पादन सुरु भएपछि यहाँ रोजगारीको सम्भावना बढेको बताए । ‘रोजगारीको संभावना बढेको छ, गाउँवासी खुशी छन्’, चौधरीले भने, ‘खाडी मुलुकमा रोजगारी गर्न जानेको सङ्ख्या यो गाउँमा पनि धेरै छ।
अब चौधरी ग्रुपले यहीँ अरू उद्योगको स्थापना गरिदिएमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्नेछ । ’गढी गाउँपालिकाका बासिन्दा १० किलोमिटर पूर्वमा रहेको दुहबी–सोनापुर औद्योगिक क्षेत्रमा रोजगारीका लागि जाने गरेको उल्लेख गर्दै उनले अब गाउँघरमै उद्योग आएपछि टाढा जानु पर्ने बाध्यता पनि सकिँदै गएको बताए ।




