राज ब्रुअरीले बडवाइजर र फोस्टर्स बियर नेपालमा उत्पादन गर्दै |
काठमाडौं । राज ब्रुअरीले डवाइजर र फोस्टर्स बियर नेपालमै उत्पादन गर्ने भएको छ । यसका लागि राज ब्रुअरी प्रालि र बियर निर्माता एन्ह्युजर–बुस इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन र विक्री वितरण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाएको कम्पनीको दाबी छ । एबि इनबेभका स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्राण्डहरु जस्तैः बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइजको नेपालीले स्वाद लिन पाउने कम्पनीले बताएको छ ।
राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा राम्रो प्रभाव कायम गर्दै आएको छ ।
एबी इनबेभ, जसको प्रधान कार्यालय ल्यूभान, बेल्जियममा रहेको छ, विश्वको करिब ५० भन्दा बढी देशहरु र आफ्ना ५०० भन्दा ज्यादा विविध प्रकारका ब्राण्डहरुका साथ यसको उपस्थिति रहेको छ । ब्राण्ड फाइनान्सका अनुसार बडवेएजर बियर विश्वको सर्वाधिक मुल्यवान् बियर ब्राण्ड हो र यो लगायत बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहमा ब्राण्ड पनि चर्चित रहेका छन् । यस्तो सूचीमा परेका अन्य ब्राण्डहरुमा स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफ, र होगार्डेन हुन् ।
उपभोक्ताहरुलाई विश्व मै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम गर्न कटिबद्ध भएको र इनबेभसँगको यो सहकार्य त्यसकै थप उदाहरण भएको जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले बताए ।
‘हाम्रो लागि अत्यन्त गर्वको विषय हो र यसले हामीलाई बजारमा हाम्रो व्यापारिक पदचिन्हलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने ठानेका छौं’ शाहले भने ।




