युनियन पे लाई नेपालमा भूक्तानी प्रदायकको काम गर्न स्वीकृति |
काठमाडौं । चीनको युनियन पे इन्टरनेशनलले नेपालमा भूक्तानी सेवा प्रदायकको काम गर्ने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले युनियन पेलाई स्वीकृति दिएको हो । चीन अन्य दुई भूक्तानी प्रदायक कम्पनी अलिपे र विच्याटले पनि नेपालमा कारोबार गर्न खोजेका छन् ।
दुबै कम्पनीले नेपालमा सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका लागि निवेदन दिइसकेका छन् । नेपालमा बैधानिक कारोबारका लागि स्वीकृति नपाउँदै आफ्नो सेवा शुरु गरेको भन्दै राष्ट्र बैंकले अबैधानिक रुपमा सञ्चालित चिनियाँ कम्पनीहरुलई काम गर्न रोकेको थियो । त्यसपछि उनीहरु स्वीकृति माग गर्दै राष्ट्र बैंक पुगेका थिए ।
पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै युनियन पे, विच्याट, अलिपेबाट भूक्तानी गर्ने क्रम बढेको थियो । बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भूक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमाथि नै धावा बोल्न थालेपछि राष्ट्र बैंकले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
स्वीकृति नलिई कारोबार गर्दा विदेशी विनिमय अपचलनको मुद्दा लाग्ने भएकाले पनि उनीहरु बैधानिक हुन खोजेका हुन् ।




