काल्र्सबर्ग फाउन्डेसनको वाईजीपी छात्रवृत्ति सारस अधिकारीलाई |
काठमाडौं । काल्र्सबर्ग फाउन्डेसनद्वारा स्थापित योङ ग्लोबल पायोनियर्स (वाईजीपी) छात्रवृत्ति सारस अधिकारीलाई प्रदान गरिने भएको छ । युवा लक्षित लर्निङ जर्नीको आयोजना गर्न प्रायोजन गरिएको यस छात्रवृत्तिमा नेपालका सारस अधिकारी छनौट भएका हुन्। विश्वभरिका हजारौं सहभागीबाट सारसलाई छानिएको बताइएको छ ।
इञ्जिनीयरिङका विद्यार्थी अधिकारीको नेपाली हस्तकला प्रवद्र्धन गर्ने प्रभावकारी व्यवसायिक सोचको लागि छात्रवृत्ति प्रदान गरिएको हो ।
वाईजीपी छात्रवृत्ति प्राप्त गरेका अधिकारीलाई गोर्खा ब्रुअरीले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी अभिनन्दन समेत गरेको छ । काल्र्सबर्गले १६ देशका २२ युवालाई एकसाथ राखेर उनीहरुको विचार आदानप्रदान गर्ने वातावरण उपलब्ध गराउने यो कार्यक्रम विश्वव्यापी हो ।
छात्रवृत्तिअन्तर्गत अधिकारीले तान्जानियाका विश्वविद्यालय एवं बिजनेस हाउस भ्रमण गर्न र युवा उद्यमीहरुसँग भेटेर उनीहरुको अनुभव बुझ्ने मौका प्राप्त गर्नेछन् । वाईजीपी प्रोग्रामले उत्कृष्ट प्रतिभाका लागि विश्वभर नेटवर्क बनाउने गोर्खा ब्रुअरीका बजार निर्देशक वैभव शर्माले बताए ।
भविष्यका जिम्मेवार लिडरलाई विश्वव्यापी अन्तदृष्टि, अन्तरसांस्कृतिक दक्षता र आकांक्षाका साथ उनीहरुको छुट्टै पहिचान बनाउन सहयोग गर्नु यो छात्रवृत्तिको उद्देश्य भएको फाउन्डेसनले बताएको छ ।
‘काल्र्सबग ग्रुपद्वारा प्रदान गरिएको यो अनुभव लिन म ज्यादै उत्साहित छु । त्यहाँ सिकिएका कुराहरुबाट म आफ्नोे प्रोजेक्टको योजना बनाउने छु । प्राकृतिकरुपमा उत्पादन गरिएका कृषि उत्पादनबाट तयार गरिएको हस्तकलामा मेरो प्रोजेक्ट केन्द्रित छ,’ छात्रवृत्ति प्राप्त गरेका अधिकारीले अभिनन्दन कार्यक्रममा भने ।




