कार्ड र अनलाईन मार्फत कारोबार गर्दा भ्याटमा १० प्रतिशत छुट, छुट रकम सोझै खातामा जाने |
काठमाडौं । उपभोक्ताले आफ्नो खरिदको भूक्तानी बैंक कार्डबाट गरे कूल भ्याट रकमको १० प्रतिशत फिर्ता दिने कार्यक्रमलाई राष्ट्र बैंकको मौद्रिक नीतिमा समेटिएको छ ।
सरकारले बजेटमा उल्लेख गरे अनुसार वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम सोझै भुक्तानीकर्ताको बैंक खातामा जम्मा हुने व्यवस्थाका समन्वय गर्ने उल्लेख छ ।
यो कार्यान्वयनमा ल्याउन केही समय भने लाग्नेछ । आन्तरिक राजस्व विभागले यो कार्यान्वयनमा ल्याउन प्रारम्भिक चरणमै राष्ट्र बैंकसँग छलफल गरेको थियो । यो व्यवस्था कार्यान्वयनमा आए कुनै एक व्यक्तिले आफूले किनेको सामानको भूक्तानी कार्डबाट गरे कूल भ्याटको १० प्रतिशत तत्कालै बैंक खातामा जम्मा हुनेछ ।
कसरी हुन्छ भ्याट रकम फिर्ता ?
उदाहरणका लागि कुनै एक ग्राहकले भ्याटमा दर्ता भएको पसलबाट १ हजारको सामान खरिद गर्दा उसले १३० रूपैयाँ भ्याट तिर्नुपर्छ ।
भ्याटसमेत जोडिएर आउने बिलको भूक्तानी कार्डबाट भए उसको खातामा कूल भ्याटको १० प्रतिशत अर्थात् १३ रूपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा फिर्ता हुन्छ । यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ताको लागत १.३ प्रतिशतले सस्तो हुन्छ । बजेटमा आउनेवित्तिकै विभागले राष्ट्र बैंकसँग छलफल गरेको थियो ।
विभाग र नेपाल राष्ट्र बैंकबीच सरकारको ढुकुटीमा पैसा आउनुअघि नै सेटेलमेन्ट गर्ने उपायबारे छलफल भएको थियो । सरकारको ढुकुटीमा पैसा जम्मा भइसकेपछि त्यो व्यक्तिको खातामा हस्तान्तरण (ट्रान्सफर) गर्न अफ्ठेरो हुने भएकाले कारोबार हुँदाकै बखत भ्याट संकलक (बिक्रेता) बाट भ्याट तिर्ने ग्राहकको बैंक खातामा पैसा स्थानान्तरण हुने व्यवस्था गर्न खोजिएको हो ।
विभागले बैंक तथा वित्तीय संस्था र कारोबार गर्ने फर्म तथा कम्पनीलाई समेट्ने गरी निर्देशिका नै बनाउने तयारी गरेको छ । त्यही निर्देशिकाअनुसार ग्राहकले तिरेको भ्याट तत्काल बैंक खातामा फर्काउन उनीहरु बाध्य हुनेछन् ।
ग्राहकका लागि तयार गरेको बिलमा भ्याट रकम अंकित हुने र त्यही अंकित रकमको १० प्रतिशत ग्राहकलाई फिर्ता गरेर बाँकी रकम सरकारको कोषमा दाखिला गर्नेछन् ।



