नागरिक लगानी कोषको कर्जा भुक्तानी अब अनलाइनबाट गर्न सकिने |
काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानीलाई अनलाईन माध्यमबाट गर्न सकिने भएको छ । अनलाइन भुक्तानीलाई सहजीकरण गराउन कोष र हिमालयन बैंक कनेक्ट आईपीएस पेमेन्ट प्रणालीमा आवद्ध भएका छन् ।
नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितिमा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल, हिमालयन बैंकका तर्फबाट कार्यकारी संचालन अधिकृत मृगेन्द्र प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत वृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्ट आईपीएसबाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ ।
नागरिक लगानी कोषको कनेक्ट आईपीएस पेमेन्ट प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ । यसका निम्ति ऋृणीले कनेक्ट आईपीएस प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सकिनेछ ।
ऋृणीले कनेक्ट आईपीएसको बेवसाइटमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।


