सिटिजन बैंकले सहयोगी विकास बैंक प्राप्ती गर्ने, नेप्सेमा सहयोगीको कारोबार रोक्का |
काठमाडौं । सिटिजन बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । दुबै बैंकका प्रतिनिधिले आइतबार सहमतिपत्रमा सम्झौता गरेसँगैसहयोगी विकास बैंकको दोस्रो बजारमा करोबार रोक्का हुने भएको छ ।
दुबै बैंकको एकीकृत कारोबार नभएसम्म दोस्रो बजारमा सहयोगी विकास बैंकको कारोबार रोक्का हुने बैंकले जनाएको छ ।
हाल सहयोग विकास बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ छ । सिटिजनले सहयोगीलाई एक कित्ता बराबर ०.९ कित्ताको अनुपातमा प्राप्ती गर्ने भएको छ । यस आधारमा सिटिजन बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ थपिनेछ ।
प्राप्तीपछि सिटिजन बैंकको चुक्ता पूँजी ८ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै सहयोगीको चार अर्ब ३३ करोड रुपैयाँ निक्षेपसँगै सिटिजनको निक्षेप ७० अर्ब २५ करोड रुपैयाँ नाघ्नेछ ।
सहयोगीको तीन अर्ब ८६ करोड ऋण लगानी छ । प्राप्ती पछि सिटिजनको ऋण लगानी ६६ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा सिटिजनको बजार मूल्य २२३ रुपैयाँ छ भने सहयोगीको १९७ रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याउने तयारी गरेसँगै विकास बैंकहरु बाणिज्य बैंकहरु सँग मर्जरमा जाने क्रम बढेको छ ।



