गोर्खा ब्रुअरीले बार स्टाफलाई हस्पिटालिटी सम्बन्धि तालिम दिदैं |
काठमाडौं । गोर्खा ब्रुअरीले देशभरका तीन सय बार स्टाफलाई बियर उत्पादन, वियर भण्डारण तथा गुणस्तरीय सर्भिङको तालिम दिएको छ ।
कम्पनीले उपभोक्तालाई गुणस्तरीय बियर स्वादअनुभव गराउनका लागि बियर सर्भ गर्नेहरुको क्षमता अभिवृद्धि गरेको हो ।
कम्पनीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टसँगको सहकार्यमा तालिम दिन थालेको हो । तालिममा सहभागीलाई बियर उत्पादनदेखि भण्डारण र सर्भिङसम्मको बारेमा सम्पूर्ण जानकारी गराइएको थियो ।
तालिममा सहभागीले बियर बन्नकालागि आवश्यक सामाग्री, उत्पादन प्रक्रिया, प्रकार आदिबारे पनि सिके । साथै बियर भण्डारण गर्नुपर्ने उचित तरिका, ग्लास सफा गर्ने तरिकाबारे पनि सिकाइएको थियो ।
सो तालिम कार्यक्रमको नाम ‘एक्सबियरियन्स’ राखिएको छ । जसमा सहभागीले काल्र्सबर्ग बियर एकेडेमीको अन्तरराष्ट्रिय पाठ्यक्रमअनुसार बियरबारे ज्ञान पाउँछन् । तालिममा एक सातामा २० बार स्टाफहरु सहभागी हुने गरेको कम्पनीले जनाएको छ ।
सोही तालिमको एड्भान्स कोर्सको रुपमा कम्पनीले काल्र्सबर्ग बियर एकेडेमीकी प्रशिक्षक सिग्रिड स्ट्रेटवर्नलाई नेपाल ल्याएको थियो । उनले दिएको सो तालीम कार्यक्रम ‘बियर इन्थुसियास्ट ट्रेनिङ’ हो ।
कम्पनीले यस किसिमको कार्यक्रमका माध्यमबाट बार स्टाफको दक्षता विकास तथा सुधार गर्ने लक्ष्य लिएको बिज्ञप्तीमार्फत जनाएको छ । तालिमपछि उनीहरुले सर्भ गर्ने तरिका अन्तरराष्ट्रिय स्तरको हुने कम्पनीको दाबी छ ।
गोर्खा ब्रुअरीले भविष्यमा सबै सहभागीलाई बियर र हस्पिटालिटिको अन्य विषयमा ज्ञान दिने योजना बनाएको छ ।
“नेपालको बार स्टाफको सीप विकास गरी वियर उपभोक्तालाई बियरको वास्तविक अनुभव दिनकालागि कार्यक्रम शुरु गरिएको ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले बताए ।
उनले यस कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको समेत जानकारी दिए । उनकाअनुसार कतिपय आउटलेटले आफ्नै आउटलेटमा आएर यस्तो ट्रेनिङ दिन आग्रह गरेका छन् । शर्माले भने, “एकपटकको तालिमभन्दा पनि हामी दिनदिनै उहाँहरुलाई ज्ञान र सीप सुधार्न तत्पर छौं ।”
गोर्खा ब्रुअरीले तालिम लिएका सबै स्टाफसँग सम्पर्कमा रहेर नियमित रुपमा अपडेट गर्दै लाने योजना बनाएको छ । गोर्खा ब्रुअरीले आफ्नो योजनाअनुसार यस किसिमको तालिम देशैभर आयोजना गर्ने बताएको छ ।
यसलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कम्पनीले सन् २०१९ को अन्त्यसम्म १ हजारलाई र अर्को वर्ष २ हजार बार स्टाफलाई तालिम दिने बिज्ञप्तीमा उल्लेख छ ।



