अर्घाखाँची पीपीसी सिमेन्ट नेपाली बजारमा |
काठमाडौं । देशकै उत्कृष्ट र गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रालीले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पीपी.सी सिमेन्ट औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले पीपीसी सिमेन्टलाई देशैभरीको बजारमा विक्रीका लागि ल्याएको हो ।
कम्पनीले बिगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पीपीसी सिमेन्टको उत्पादन थालेको हो ।
कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनीक एफएलस्मिथको डेनिस प्रविधिको भीआरएम मेसिनबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको छ ।
एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्शन लाइनमार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने सम्भवत यो नेपालकै पहिलो सिमेन्ट कम्पनी हो ।
अर्घाखाँची पीपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, “हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं । नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पीपीसी सिमेन्ट उत्पादन गर्न शुरु गरेको हौं । पीपीसी सिमेन्टको उत्पादन र विक्रीवितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धी हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादनप्रति ग्राहकहरुको विश्वास थप मजबुत हुनेमा हामी बिश्वस्त छौं ।”

