साधना र आर्थिक समृद्धि लघुवित्त मर्जरमा, सारथि र सत्यवति पनि गाभिने |
काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्नु अगावै दुई लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन्। साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।
यसैगरी सारथि लघुवित वितीय संस्था र सत्यवती लघुवित वितीय संस्था पनि गाभिने भएको छ । एकआपसमा गाभिने प्रयोजनका लागि साधना र आर्थिक समृद्धिले जेठ २५ गते छुट्टाछुट्टै विशेष साधारणसभा बोलाएका छन्। साधनाले विशेष साधारणसभा गोरखामा र आर्थिक समृद्धिले तनहुँमा बोलाएका हुन् ।
दुबै संस्था बराबरी हैसियतमा गाभिने भएका छन्। दुई संस्था एकआपसमा गाभिएसँगै कूल चुक्ता पूँजी ७ करोड ९६ लाख रुपैयाँ पुग्नेछ । हाल साधनाको चार करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी छ भने आर्थिक समृद्धिको तीन करोड ६ लाख रुपैयाँ रहेको छ । दुबै संस्थाले २०७४ बाट वित्तीय सेवा सञ्चालन गर्दै आएका हुन् ।
साधनाको केन्द्रिय कार्यालय गोरखामा रहेको छ भने आर्थिक समृद्धिको तनहुँमा छ । मर्ज भएसँगै शाखा कार्यालय ३९ वटा पुग्नेछ । तुलनात्मक रुपमा आर्थिक समृद्धिको वित्तीय अवस्था कमजोर रहेको छ ।
दुई संस्था गाभिए सँगै सर्वसाधारणबाट उठाएको निक्षेप २१ करोड ९६ लाख रुपैयाँ पुग्नेछ भने ऋण लगानी एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ ।

