केन्द्रीय बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने, आज बोलकबोल |
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका तर्फबाट ६ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८९ ख’ नाम रहेको यस ऋणपत्रको अवधि १३ वर्ष तोकिएको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
यो ऋणपत्र बिहीबार (जेठ ९ गते) दिउँसो ३ बजे बोलकबोल गरी शुक्रबार (जेठ १० गते) जारी हुनेछ । यस विकास ऋणपत्रलाई नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनीसहित संगठित संस्थाले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितोमा राखेर कर्जा लिन–दिन सकिनेछ ।
यसको साँवा भुक्तानी २०८९ जेठ १० गते हुनेछ । ब्याज भुक्तानी भने प्रत्येक ६–६ महिनामा हुनेछ । खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशː निष्कासित रकमको ८० प्रतिशत (४ अर्ब ८० करोड रुपैयाँ) र २० प्रतिशत (१ अर्ब २० करोड) छुट्याइएको छ ।




