सबै बैंकको एटीएम मेसिनमा नेपाली भाषा |
काठमाडौं । साक्षर व्यक्तिले सहजै रुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ ।
उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले एटीएम मेसिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको छ । सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटीएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका एटिएममा नेपाली भाषा रहेको भए पनि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटीएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो । बैंकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटीएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
नेपाली भाषा प्रयोग गरी एटीएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटीएम मेसिन सञ्चालनमा ल्याएका हुन् । बैंक तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटीएम कार्ड प्रयोग गर्छन । कूल ५९ लाख ६० हजारले एटीएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको शुरुआतसँगै शुरु गरेको ‘खाता खोलौँ’ अभियानले पनि एटीएम कार्ड लिनेको सङ्ख्यामा वृद्धि हुने देखिएको छ ।



