बीमितलाई एलआईसी नेपालको सर्वाधिक बोनस दर घोषणा |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालद्वारा आव २०७४∕७५ बाट लागू हुने गरी आफ्ना बीमितहरुलाई नयाँ बोनस दर घोषणा गरिएको छ ।
सवै बीमा पोलिसीहरुमा बीमा अवधि अनुसार न्युनतम् बोनसदर ६६ देखि अधिकतम ८५ रुपैयाँ सुनिश्चित लाभसम्म कायम गरिएका कम्पनीले जानकारी दिएको छ ।
बीमितहरुका लागि यो बोनस दर नेपालको जीवन बीमा क्षेत्रकै ऐतिहासिक एवं सर्वाधिक बोनसदर रहेको समेत जानकारी गराउन चाहन्छौ, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीमा कम्तीमा ५ वर्ष र वढीमा २५ वर्ष अवधिका बीमा योजनाहरु छन् ।
५ वर्ष अवधिका सवै बीमालेखमा ६६ रुपैयाँ बोनश, २० वर्ष अवधिको जीवन तरङ्ग (पेन्सन) योजनामा रु. ७७ बोनस र ५ वर्ष अवधिको जीवन आस्था योजनामा ८५ रुपैयाँ सुनिश्चित लाभ प्रदान गरिने जानकारी दिएको छ । बीमा समितिको मिति २०७६ बैसाख १५ गतेको पत्रमार्फत एलआईसी नेपालले यो नयाँ बोनसदरको स्वीकृति प्राप्त गरेको हो ।



