उपत्यकाका १० स्थानमा सवारी चार्जिङ स्टेसन खुल्ने |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्य राखेर आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको छ । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ ।
प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।
यस्ता चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने ठाउँ उपलब्ध हुनुपर्नेछ । यस्तै ५० वटा गाडी पार्किङको सुविधा भएका ठाउँलाई मात्र चार्जिङ स्टेसनका लागि छनोट गर्ने बताइएको छ । हाल पहिलो चरणमा १० चार्जिङ स्टेसनका लागि कन्ट्रोल रुमसहति १० करोड लगानी गर्ने योजना छ । चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही दिनमै बोलपत्र आह्वान गरिने प्राधिकरणको भनाई छ ।
अबको ६ महिनमा उपत्यकाभित्र चार्जिङ स्टेसन खोलिसक्ने योजना छ । हाल काठमाडौंमा ६ सय विद्युतीय सवारी रहेको अनुमान छ । ती सवारी घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ । अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले शहरका विभिन्न भागमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन शुरु हुने विश्वास प्राधिकरणको छ ।
तत्कालका लागि सफा टेम्पोको लागि तोकिएको शूल्कमै चार्जिङ सुविधा दिने योजना छ । सरकारले निजी प्रयोजनका सवारीका लागि हाल छुट्टै चार्जिङ शुल्क तोकेको छैन । विद्युत नियमन आयोग गठन भएपछि मात्रै नयाँ शुल्क तोक्न सकिने अवस्था छ ।
अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक–फरक पोर्टमा लाग्नेखालका तीनवटा चार्जर हुनेछन् । ती ५०÷५० किलोवाटका हुनेछन् । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् । यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।
विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।
काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेसन जडान गने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्याकभित्र बसहरुका लागि पनि स्टेसन बनाइने बताइएको छ ।
पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिन लागिएको हो ।
Visited 1 times, 1 visit(s) today


