युएईबाट रेमिट्यान्स पठाउने परिवारले विनाधितो दुई लाखसम्म ऋण |
काठमाडौं । युनाइटेड अरव इमिरेट्स ‘युएई’ बाट रेमिट्यान्स पठाउनेले लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन् । युएईको अल फर्दान एक्सचेन्ज मार्फत नेपालमा रमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका लागि कर्जा पाउने छन् ।
संयुक्त राष्ट्र संघ पूँजी विकास कोष ’युएनसीडीएफ’ले ब्लकचेन टेक्नोलोजी मार्फत यो सुविधा प्रदान गर्ने भएको हो । ब्लकचेक टेक्नोलोजीले रेमिट्यान्स र बैंकबीच पुलको काम गर्छ । यो टेक्नोलोजीमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो व्यक्तिगत विवरण ’केवाइसी’ भर्न सक्नेछन् ।
यही प्रणाली अनुसार नेपालमा रेमिट्यान्स प्राप्त गर्नेको परिवारले पनि व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । ब्लकचेनमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो परिवारले लिएको कर्जा र किस्ताका बारेमा जानकारी पाउनेछन् ।
युएनसीडीएफले रेमिट्यान्सलाई सहजीकरण गर्न तथा रेमिट्यान्सलाई पनि कर्जा प्राप्तीको माध्यम बनाउन सहजीकरणको भुमिका निर्वाह गरेको हो ।
अल फर्दान एक्सचेन्ज युएईको दोस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक संस्था हो । युएईमा मात्रै यो ७० वटा शाखा कार्यालय रहेको छ भने संसारभर १४० वटा करेस्पोण्डेन्ट छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले नेपालमा पहिलो पटक रेमिट्यान्स पठाउनेलाई कर्जा दिने अवधारणा पहिलो पटक नेपालमा शुरु भएको बताए ।


