कुमारी बैंकले एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा |
काठमाडौं । कुमारी बैंकले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७३∕७४को पनि साधारण सभा गर्न वाँकी रहेको बैंकले २०७४∕७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान १०ː३० बजे डाकेको साधारण सभामा आर्थिक वर्ष २०७३∕७४ को मुनाफाबाट १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट ८.५० प्रतिशत गरि कूल २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव छ ।
यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गर्ने प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २∕२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।
बैंकले साधारण सभा प्रयोजनका लागि बैशाख ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ५ गते बिहीबारसम्म कायम रहने बैंकका शेयरधनीले बैंकको दुई आर्थिक वर्षको बोनस पाउनेछन् । एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रूपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।
बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।
Visited 3 times, 1 visit(s) today


