चन्द्रागिरी महोत्सव चैत २९ देखि |
काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारामा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरी महोत्सव’ हुने भएको छ ।चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो ।
‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं’ भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव हुन लागेको हो ।
पर्यटकीयस्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरूपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको नगरपालिका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
नौ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने महोत्सवका संयोजक रामनारायण घिमिरे बताए ।
महोत्सवमा चन्द्रागिरीको पृष्ठभूमि झल्कने होर्डिङ बोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरूको आयोजना हुनेछ । पछिल्लो समय दहचोक, कालुपाण्डे समाधिस्थल, मातातिर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिकस्थल रहेको पर्यटकीय स्थललाई प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लगेको छ ।
महोत्सवमा स्थानीयस्तरका झाँकी प्रदर्शन समेत गरिने महोत्सवका प्रचार प्रसार संयोजक रोशन दानीले जानकारी दिए ।
Visited 1 times, 1 visit(s) today


