३० ठूला अनियमितताको सूक्ष्म अनुसन्धान गर्दै अख्तियार, एसईई प्रकरणमा पनि प्रवेश गर्ने |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको र हालैको एसईई प्रकरणमा पनि प्रवेश गर्ने भएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले हिजो मंगलवार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा अनुसन्धान भइरहेको बताउँदै यस पटकको एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा पनि अख्तियार प्रवेश गर्ने जानकारी दिएका हुन् ।
एसइईको परीक्षामा प्रश्नपत्र बाहिरिएका कारण तराईका आठ जिल्लाको परीक्षा स्थगित भएको थियो, जुन अब यही चैत २२ गतेदेखि पुनः सञ्चालन हुने भएको छ ।
उनले वाइड वडी खरिद प्रकरणका विषयमा २१ जनाको बयान सकिएर हाल सञ्चालक समिति र पदाधिकारीसँग बयान लिने क्रम जारी रहेको जानकारी दिए ।
प्रमुख आयुक्त घिमिरेले साझा प्रकाशनका पूर्वअध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माको अनुसन्धान पनि प्रारम्भिक तहबाट विस्तृत अध्ययनमा पुगेको जानकारी दिएका छन् । २०७२ सालदेखि नै विवादित बन्दै आएका उनीमाथि साझा प्रकाशनको कोष हिनामिना, अनावश्यक नियुक्ति, साझाको लोगो दुरुपयोगलगायतका आरोपमा मुद्दा परेको थियो ।
अनुचित कार्यको विषयमा अख्तियारले अध्ययन गर्न नपाउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुँदै आएको उनले बताए । उनले संविधान संशोधन गरेर अनुचित कार्य अख्तियारले हेर्ने व्यवस्था गर्नुपर्ने बताए । अख्तियारलाई अनुसन्धान गर्नका लागि सार्वजनिक ऐन पनि बाधक भएका कारण ऐन संशोधनका लागि ड्राफ्ट नै बनाएर मन्त्रिपरिषदमा पठाएको उनले बताए । कोशी नदीमा रहेको श्रीलंका टापुको विषयमा आयोगले गम्भीर रूपमा लिएको उनले बताए ।
प्रमुख आयुक्त घिमिरेका अनुसार अख्तियारमा चालू आवको चैत १५ गतेसम्ममा घूस÷रिसवतका ८९, नक्कली शैक्षिक प्रमाणपत्रका ६३, सरकारी अनुदान र अन्य रकम हिनामिना १८, गैरकानूनी सम्पत्ति आर्जन ७, राजस्व हिनामिना ४, गैरकानुनी लाभहानी÷विविध गरी २ सय २० वटा मुद्दा रहेका छन् भने जम्मा ८ हजार ८ सय ८० उजुरी रहेका छन् ।

