लगानी सम्मेलनप्रति सरकार र निजी क्षेत्र दुवै उत्साहित |
काठमाडौं । काठमाडौंमा आयोजना हुने दुईदिने नेपाल लगानी सम्मेलनलाई सफल बनाउन सरकार विभिन्न कार्यमा जुटेको छ । उक्त सम्मेलनलाई लिएर सरकार र निजीक्षेत्र दुवै निकै उत्साहित र सकारात्मक देखिएका छन् ।
६ सयभन्दा बढी विदेशी लगानीकर्ता र ३ सयभन्दा बढी स्वदेशी लगानीकर्ताको जमघट हुने उक्त सम्मेलन काठमाडौंमा आगामी शुक्रवार र शनिवार आयोजना हुँदैछ । सम्मेलनको प्रमुख उद्देश्य विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानीको अवसरलाई नजिकबाट चिनाउनु रहेको छ भने स्वदेशी र विदेशी लगानीकर्ताबीच ‘सञ्जालीकरण’ गर्ने लक्ष्य पनि राखिएको छ । सम्मेलनको अवसरमा विदेशी लगानीकर्तासँग सिधै डिल गर्न पाइने भएकाले निजीक्षेत्रका कम्पनीहरू बिजनेस डिलका लागि आन्तरिक गृहकार्यमा तल्लीन रहेका छन् ।
यतिबेला विदेशी पाहुनालाई लक्षित गरेर सडकहरू सफा गर्ने र स्वागतद्वारहरू बनाउने काम भइरहेको छ । सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजीक्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरू प्रस्तुत गर्ने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘सबैले विदेशी लगानीकर्तालाई मुस्कानसहित स्वागत गरौं, सुरक्षा निकायले पनि एयरपोर्टदेखि यहाँ रहँदासम्म राम्रो सुरक्षाको प्रबन्ध गर्नेछ ।’
४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने उक्त सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैर–आवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहनेछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



