तीनबुँदे सहमतिपछि आन्दोलित प्राविधिकहरू आजदेखि लागे काममा |
काठमाडौं । अतिरिक्त समय काम गरेबापतको भत्ता एवम् दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने माग राखी गत साउनदेखि आन्दोलनरत प्राविधिकहरू काममा फर्कन सहमत भएका छन् । प्रोत्साहन भत्तासहितको सुविधा उपलब्ध गराउने गरी गरेको सहमति सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरू काममा फर्कन सहमत भएका हुन् ।
नेपाल इञ्जिनियर्स एशोसियशन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच छलफल भई आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कने सहमति भएको हो । यही चैत १० गते अर्थ मन्त्रालयले प्राविधिकहरूलाई प्रोत्साहन भत्तालगायतका सुविधा उपलब्ध गराउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो । एशोसिएशन र हकहित समितिबीच तीनबुँदे सहमति भएको थियो ।
उक्त सहमतिअनुसार पुनःनिर्माणमा खटिएका इञ्जिनियरहरूलाई अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउन पुनर्निर्माण प्राधिकरणले सात दिनभित्र उक्त सहमति कार्यान्वयन गराउन प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरू काममा फर्कने भएका हुन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘अर्थ मन्त्रालयको सहमतिअनुसार प्राविधिकहरूलाई प्रोत्साहन भत्तालगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषद्बाट निर्णय आउने मेरो विश्वास छ ।’



