विराटनगरमा देशकै ठूलो तरकारी बजार सञ्चालन |
विराटनगर । विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिकामा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा आएको छ । हिजो एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरेका हुन ।
प्रम ओलीले बजारको साँचो प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री केपीले आजको मुख्य समस्या उत्पादन र उत्पादकत्व बढाउनु हो भन्ने धारणा प्रकट गर्दै यसका लागि सहकारीका माध्यमबाट चक्लाबन्दी खेती आवश्यक रहेको सुझाव दिए ।
प्रदेश नम्बर १ कै नमूनाको रुपमा लिइएको यो तरकारी बजारको मौज्दात क्षमता देशभरमै ठूलो छ । बजारको उद्घाटन गत कात्तिकमै हुने निश्चय भएको थियो तर प्रधानमन्त्री ओलीको समय मिल्न नसकेका कारण पाँच महिना ढिलो गरेर उद्घाटन गरिएको छ । विराटनगरको गुद्री बजारलाई व्यवस्थित गर्न कटहरीमा क्षेत्रीय तरकारी बजार निर्माण गरिएको हो ।
विराटनगरस्थित मूल सडकमा लाग्दै आएका साप्ताहिक हटियालाई सोही बजारमा व्यवस्थापन गर्ने महानगरको योजना छ । स्थानीय जनप्रिय माध्यमिक विद्यालय र कटहरी गाउँपालिकासमेत गरी ५ बिघा २ धुर जग्गामा १५ करोड ४८ लाख ४९ हजार रुपैयाँ लागतमा बजार निर्माण गरिएको हो ।
विश्व बैंकको आर्थिक सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारका रूपमा यसलाई निर्माण गरेको हो । थोक विक्रेताका लागि गोदामसहितको बजारमा १७ वटा सटर, खुद्रा विक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्गमिटरमा सटर र कृषकले आफ्नो उत्पादन आफैँ विक्री गर्न १ सय ३८ दशमलव ५ वर्गमिटरको सेड निर्माण गरिएको छ ।
बजारमा तीन तले प्रशासनिक भवन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह र बैंक काउन्टरसमेत छन्।् । तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेसिन, फोहोर संकलन यार्ड, तरकारी लोड अनलोड गर्ने क्षेत्र, डिप ट्युवेल, जेनेरेटर, सोलार व्याट्री, सीसीटीभी, सुरक्षा गार्ड पोस्ट र गाडी पार्किङको व्यवस्थासमेत बजारमा छ ।




