लगानी सम्मेलनमा ६३ विकास आयोजनाको प्रस्ताव पेश गर्ने तयारी | प्रस्तावमा जलविद्युतदेखि ३० खर्ब लागतको पूर्वपश्चिम रेलमार्गसम्म
काठमाडौं । यही चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनमा सरकारले ६३ वटा विकास आयोजनाको प्रस्ताव सूची पेश गर्ने भएको छ । लगानी बोर्डले आफ्नो पहलमा ४६ वटा र निजीक्षेत्रका १७ वटा परियोजना गरी सो परिमाणका विकास आयोजनाको सूची पेश गर्ने जानकारी दिएको हो ।
ती परियोजना लगानी बोर्ड र निजीक्षेत्रसमेतले पूर्वसम्भाव्यता अध्ययन गरी तयार पारिएको र देशका सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित विकासको अवधारणामा आाधारित रहेको बोर्डले बताएको छ ।
बोर्डका अनुसार उक्त प्रस्तावमा यातायात, पर्यटन, कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सबैखाले योजना परेका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार आयोजनाहरू राष्ट्रिय आवश्यकता, संभाव्यता र लगानीकर्ताको सम्भावित आर्कषणजस्ता पक्षलाई दृष्टिगत गरेर चयन गरिएको छ ।
उनले भने, ‘सकेसम्म हिमाल–पहाड–तराईदेखि सबै प्रदेशका संभावित आयोजनाहरूमा लगानी भित्र्याउने गरी हामीले तयारी गरेका हौं, यसका लागि हामीले सबै प्रदेश सरकारलगायत सरोकारवाला निकायसँग छलफलसमेत गरेका थियौं ।’
बोर्डले नेपालको पूर्वदेखि पश्चिमसम्म समेट्ने गरी झण्डै ३० खर्ब रूपियाँ लागतको विद्युतीय रेलमार्ग निर्माणको प्रस्ताव पनि तयार गरेको छ । त्यसका साथै काठमाडौंलाई पोखरासँंग जोड्ने विद्युतीय रेलमार्गको प्रस्ताव पनि बोर्डले तयार पारेको छ ।
बोर्डले तयार गरेको प्रस्तावमा सुदूरपश्चिम परिवहन परियोजना, प्रदेश १ मा १ हजार १ सय १० मेगावाटको सुनकोशी जलविद्युत् परियोजना, काठमाडौंमा मेट्रो परियोजना तथा रिङरोड बस र्यापिड ट्रान्जिट परियोजना पनि समेटिएका छन् ।
त्यस्तै, प्रदेश २ मा निजगढ अन्तरराष्ट्रिय विमानस्थाल र प्रदेश १ को विराटनगरमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव पनि सम्मेलनमा राखिने भएको छ । रूपन्देहीको तिलोत्तमा, मोरङको उर्लाबारी, कैलालीको अत्तरिया, कास्कीको हेम्जामा एकीकृत कृषि पूर्वाधार परियोजना सञ्चालन गर्ने सोचसहित बोर्ड कार्यालयले परियोजना खाका तयार गरेको छ । पर्यटनका क्षेत्रमा मनाङमा स्कि रिसोर्ट, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, रोल्वालिङ साहसिक खेल शिक्षालयको योजना पनि बोर्डले तयार पारेको छ ।
सम्मेलनमा निजी क्षेत्रबाट राखिएका प्रस्तावहरूमा एघारवटा अयोजना त जलविद्युत्का मात्रै रहेको बोर्डले जानकारी दिएको छ । प्रस्तावित जिलविद्युत् आयोजनामा नामालाङ खोला जलविद्युत् परियोजनादेखि माथिल्लो बलेफी, त्रिशूली गल्छी, माथिल्लो चमेलियालगायतका आयोजना उक्त प्रस्तावमा समेटिएको छ । जालपादेवी, अन्नपूर्ण र स्वर्गद्वारी केबुलकार तथा पर्यटन परियोजना, आईएमई सिमेण्टजस्ता आयोजना पनि निजी क्षेत्रबाट प्रस्ताव गरिएको बोर्डले बताएको छ ।



