त्रिशुली जलविद्युतको आइपीओ चैत ७ गतेदेखि, जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको पहिलो आईपीओ |
काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत्र ७ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रुपमा शेयर निष्काशन गर्ने भएको हो ।
शेयरधनीहरुले हाललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्ने छन् । बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्काशन गर्नेछ ।
हाल प्रति कित्ता १० रुपैयाँमा शेयर खरिद गर्नेले नै बाँकी ९० रुपैयाँको दरमा शेयर खरिद गर्ने सक्ने कम्पनीले जानकारी दिएको छ । सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीले छिटोमा चैत्र १२ गते र पहिलो चरणमा विक्री नभएमा ढिलोमा बैंशाख ६ गतेसम्म विक्री खुला गर्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको छ । सर्वसाधारणको लागि छुट्टाएको मध्ये तीन प्रतिशत अर्थात एक करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरुको लागि सुरक्षित गरेको छ ।
कर्मचारीहरुलाई दिएर बाँकी रहेको ३५ करोड ९३ लाख ८५ हजार रुपैयाँ सर्वसाधारणको लागि छुट्टाएको हो । सर्वसाधारणका लागि छुट्टाएको शेयर मध्येकै १० प्रतिशत अर्थात तीन करोड ७० लाख ५० हजार रुपैयाँ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो । आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ । मेरो शेयरमा खाता हुनेले अनलाइन आवेदन दिन सक्ने छन् ।

