उद्योगी र बैंकर मिले, दुवै पक्षको सहमतिमा ब्याजदर निर्धारण हुने |
काठमाडौं । बैंक ब्याज चर्को भो भन्दै त्यसलाई नियन्त्रणमा ल्याउन सरकार र नेपाल बैंकर्स एशोसिएशनलाई समेत दबाब दिँदै आएका उद्योगी व्यवसायीहरू अन्ततः सहमतिमा आएका छन् । उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसिएशनका प्रतिनिधिहरूबीच आज सोमवार बसेको बैठकले सहमति गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको हो ।
बैंक ब्याजदरको विषयमा दुई कित्तामा उभिएका उद्योगी र बैंकर अन्ततः आजको छलफलपछि मिलेका हुन् । बैठकले प्रत्येक ३ महिनामा दुवै पक्ष एकठाउँमा बसी छलफल गरेर बजारको अवस्था बुझ्ने र सम्भावित जोखिमबाट जोगिने उपायको खोजी गर्ने निर्णय पनि गरेको छ ।
उक्त छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने, ‘हामीले सौहार्दपूर्ण वातावरणमा छलफल गरेर एकआपसमा मिलेर अघि बढ्ने निष्कर्ष निकाल्यौं ।’
दुवै पक्ष मिलेर अघि नबढ्दा दुवै पक्षलाई घाटा हुने निष्कर्षसहित सहमति गरिएको उनले जानकारी दिएका छन् । उनले थपे, ‘उद्योगी र बैंकर भनेका सहयात्री हुन्, मिलेर अघि बढ्दा मात्रै दुवैको हित हुन्छ, हाम्रोबीचमा थोरै मात्र असमझदारी आएको थियो, आजको बैठकले सबै कुरा मिल्यो ।’
बैंठकले महासंघका प्रतिनिधि र बैंकरका प्रतिनिधि सम्मिलित कार्यदल समेत गठन गरेको छ । सो कार्यदलले एक हप्ताभित्र छलफल गरेर ब्याजदरसम्बन्धी किचलो अन्त्य गर्ने प्रस्ताव तयार पारेर नेपाल राष्ट्र बैंकलाई पेश गर्ने बताइएको छ । सोही आधारमा राष्ट्र बैंकले ब्याजदर आन्दोलनलाई सम्बोधन गर्ने र चैत मसान्तभित्रै ब्याजदरको विवाद पूर्णतः समाधान हुने पनि उपाध्यक्ष श्रेष्ठले दाबी गरे ।
बैठकमा महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूमा उद्योगीहरूले बुझाउनुपर्ने विवरणमा एकरूपता ल्याउने सहमति पनि बैठकले गरेको छ ।

