विदेशिने नेपालीको संख्यामा ठूलो गिराट | विदेशिने कामदार ४० प्रतिशतले घट्दा पनि रेमिट्यान्स ३० प्रतिशतले बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको पाइएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष यस्तो संख्या १.८ प्रतिशतले मात्र घटेको थियो ।
तथ्यांकअनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको पाइएको हो ।
चालू आवको शुरूदेखि नै नेपालीको प्रमुख श्रम गन्तव्य मलोशियाको रोजगारी बन्द छ । यसैका कारण पनि विदेशिने नेपाली कामदारको संख्यामा उच्च गिरावट आएको हो । मलेशियाबाहेक अन्य देश जाने नेपालीको संख्यामा पनि गत वर्षभन्दा समीक्षा अवधिमा केही कमी आएको पाइएको छ ।
वैदेशिक रोजगारीमा जाने संख्यामा ठूलो गिरावट आए पनि चालू आवको यो अवधिसम्ममा रेमिट्यान्स आप्रवाह भने नघटेको पाइएको छ । तथ्यांकअनुसार चालू आवको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको पाइएको छ । यो अवधिमा जम्मा रू. ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । घिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो ।


