नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार शुभारम्भ भोलि, प्रम ओलीले उद्घाटन गर्ने |
काठमाडौं । नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार शुभारम्भ भोलि बुधवारदेखि हुने भएको छ । उक्त बैंकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
नेपाल सरकारसहित झण्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता रहेको उक्त बैंकको चुक्तापूँजी रू. २० अर्ब रहेको छ, जसमा १० प्रतिशत सरकारी लगानी रहेको छ । ६० प्रतिशत अर्थात् १२ अर्ब रुपैयाँ संस्थापक शेयरहोल्डरको लगानी रहने उक्त बैंकको ४० प्रतिशत लगानी सर्वसाधारणको रहने बताइएको छ ।
बैंकले प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरिसकेको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको उक्त बैंकमा नेपालका व्यावसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई ग्रुपलगायतका समूह आवद्ध छन् । त्यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ ।
बैंकले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरी ऋण लिने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्नेलगायतका काम गर्ने बताइएको छ ।



