राजस्व छल्ने मुख्य अभियुक्तसहित २४ जनाविरुद्ध साढे ३ अर्बको मुद्दा | हुण्डीको कारोबार गर्ने दुईजनामाथि पनि साढे ३ करोड बिगो राखी मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले रू. १ अर्ब ७५ करोड राजस्व छली गरेको आरोपमा बिगोको दोब्बरसम्मको जरिवाना र ३ वर्ष कैद माग गर्दै आइतवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । बिगोको दोब्बरसम्मको जरिवाना हिसाब गर्दा ३ अर्ब ५० करोड हुन आउँछ । विभागले राजस्व छलीको आरोपमा मुख्य अभियुक्तद्वय जयकिशोर साह र परमेश्वर साहसहित २४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
मुख्य अभियुक्त जयकिशोर र परमेश्वरले आफ्नै फर्ममा काम गर्ने मजदुर र न्यून आयस्रोत भएका व्यक्तिको नाममा उक्त संख्यामा फर्म खोली भ्याट दर्ता गरेर कारोबार गर्ने गरेको आरोपमा विभागले मुद्दा दायर गरेको बताएको हो ।
साथै, उनीहरूले बैंकमा आफ्ना कर्मचारीको नाममा खाता खोलेर कारोबार सञ्चालन गर्ने गरेको पनि अनुसन्धानमा देखिएको विभागले बताएको छ । विभागका अनुसार उनीहरूले नक्कली भ्याट बिल छपाइ गरी कारोबार गर्ने गरेका थिए । जसले बिजक जारी गर्छ, उसैबाट थोरै कमिशन लिएर बिल फिर्ता गर्ने, भ्याट बिल छपाइ र विक्री गर्ने गरेको भेटिएको विभागको दाबी छ । उनीहरूले अडिट गरेको वित्तीय विवरणसमेत कर कार्यालयमा बुझाउने र कर प्रणालीमा कारोबारसमेत देखाउने गरेका थिए ।
अनुसन्धानमा १३ प्रतिशत भ्याट र खर्च देखाई आयकर २५ प्रतिशत छली गरेको खुलेको छ । अनुसन्धानमा असारमा १२ करोड कारोबार गरेको फर्म साउनमा गायब भएको समेत भेटिएको छ । परमेश्वर साहले मात्र २० वटा खाता सञ्चालन गरेको फेला परेको छ । बिल खरिद गर्ने ठूला तथा मझौला गरी १२ फर्मको कारोबार विवरण संकलन गरी अनुसन्धान अघि बढाइएको थियो ।
विभिन्न फर्महरू दर्ता गरी ठूलो परिमाणमा राजस्व चुहावट गरेको सूचनाका आधारमा अनुसनधान गर्दै जाँदा साहद्वयकै फर्ममा काम गर्ने मजदुर र न्यून आय भएका व्यक्तिका नाममा २४ वटा त्यस्ता फर्म दर्ता गरेको पाइएको विभागले जानकारी दिएको छ । विभागले मुख्य अभियुक्त परमेश्वरलाई माघ १० गते र जयकिशोरलाई माघ ४ गते पक्राउ गरेको थियो ।
कुनकुन फर्मविरुद्ध मुद्दा चलाइयो ? हेर्नुहोस्



हुण्डीको कारोबार गर्ने रेमिट्यान्स कम्पनीमाथि पनि मुद्दा
त्यसैगरी राजस्व अनुसन्धान विभागले गत आइतवार नै विदेशी विनिमय अपचलन र हुण्डी कारोबार गरेको आरोपमा एक रेमिट्यान्स कम्पनीका दुईजनामाथि पनि मुद्दा दायर गरेको छ । विभागले रिलायन्स सब रेमिट प्रालिका सञ्चालक गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बूलाई मुद्दा चलाइएको बताएको हो ।
उनीहरूविरुद्ध ३ करोड ६६ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जानकारी गराएको छ ।



