विराटनगरमा सेन्ट्रल मल सञ्चालन आयो, एक अर्ब रुपैयाँ लगानी |
विराटनगर । विराटनगरमा सेन्ट्रल मल सञ्चालनमा आएको छ । तीन व्यवसायिक समूह विशाल समूह, देवेनरा मुन्दडा समूह र विराटनगरका चौधरी दाजुभाइको हाइलाइफ समूहको संयुक्त लगानीमा मल सञ्चालनमा आएको हो ।
सेन्ट्रल मलको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार गरेका छन्। प्रदेश सरकारले परियोजना बैंकको तयारीमा लागिरहेको र निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भइरहेको राईले बताए । दातृ निकाय र निजी क्षेत्रसितको संयुक्त सहभागितामा लगानी सम्मेलन गरिने उनको भनाई थियो ।
मल तयार हुँदा जमिनको मूल्यसहित १ अर्ब रुपैयाँ लगानी पुगेको सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए । महानगरपालिकाको मेनरोडमा रहेको अतिथि सदनदेखि १ सय मिटर उत्तरमा रहेको १६ कट्ठा जमिनमा बनाइएको २५ हजार वर्ग फिटको मलमा १ सय १० पसल छन्। जसमध्ये ५५ वटा भाडामा लागिसकेका छन् ।
मलले तत्काल ७५ सवारीसाधन र १ सय ५० मोटर साइकलका लागि अन्डरग्राउन्ड पार्किङको निर्माण गरेको छ । पार्किङको चाप बढ्दै गएपछि यसको क्षमता दोब्बर बनाएर १ सय ५० गाडी र ३ सय मोटरसाइकल अट्ने स्थान बनाइने सञ्चालक मुन्दडाले बताए ।
मलले दोस्रो तलामा २ सय ५० सिट क्षमताका वातानुकुलित दुई सिनेमा हल र एक रेस्टुरेन्ट सञ्चालन गरेको छ । दोस्रो तलामै नील डेभिडले सैलुन, स्पा र शारीरिक फिटनेस सेन्टर सञ्चालन गरिरहेको छ ।
‘मनोरञ्जन, किनमेल, भोजन तृप्ति र तन्दुरुस्तीका लागि एउटै थलो’ भत्रे उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मलमा बालबालिकाका लागि छुट्टै खल्ने ठाउँ छ ।



