सुनको भाउ घट्ने क्रम जारी, ५ दिनमा १३ सय घट्यो | अमेरिका–चीन व्यापारिक तनाव हल हुने संकेतको प्रभाव सुन बजारलाई परेको हो : अध्यक्ष शाक्य
काठमाडौं । गत ४५ दिनदेखि घट्न थालेको सुनको भाउ अझैसम्म रोकिएको छैन । पछिल्लो पाँच दिनमा सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ । यही फागुन १४ गते प्रतितोला ६२ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज आइतवार ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा शनिवार सुनको भाउ प्रतिऔंस झण्डै २० डलर घटेपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
गत ५ दिनदेखि प्रत्येक दिन प्रतितोला २ सयको दरले भाउ घटेको सुन १७ फागुनमा एकै दिन ४ सय रुपैयाँ घटेर प्रतितोला ६२ हजारमा कारोबार भएको पाइएको छ । हिजो शनिवार मात्रै थप ५ सय रुपैयाँ घटेर प्रतितोला ६१ हजार ५ सयमा झरेको महासंघले बताएको छ ।
अन्तरराष्ट्रिय बजारमा हिजो शनिवार १९.१४ डलर घटेको सुनको भाउ आज आइतवार प्रतिऔंस १ हजार २ सय ९३ डलरमा कारोबार भइरहेको छ । अमेरिका र चीनबीचको व्यापारिक तनाव हल हुने संकेतपछि त्यसको सोझो प्रभाव सुन बजारमा परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
आज आइतवार तेजाबी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला ६१ हजार ७ सय रहेको तेजाबी सुनको भाउ शनिवार ५ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी शुक्रवार ७ सय ७० रुपैयाँ प्रतितोला रहेकोमा १० रुपैयाँ घटेर आइतवार ७ सय ६० मा किनबेच भइरहेको छ । नेपाली बजारमा दैनिक १८ देखि २० किलो सुन किनबेच हुने गरेको छ ।
Visited 1 times, 1 visit(s) today


