मुग्लिनको आर्क ब्रिज बैशाखदेखि सञ्चालन हुँदै |
काठमाडौं । चीनमा पढेर आएर नेपाली इन्जिनियरहरूले डिजाइन गरेको दोस्रो आर्क ब्रिज वैशाखदेखि सञ्चालनमा आउने भएको छ । विश्व बैंकको १२ करोड रुपैयाँ लागतमा निर्माणाधीन उक्त पुल फागुन सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि दुई महिना ढिलो गरी सञ्चालनमा ल्याउन लागिएको हो ।
चैत मसान्तसम्म संरचना निर्माण भइसक्ने र वैशाख १ गतेबाट सञ्चालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार केही दिनभित्रै ढलान सकिने र रेलिङ हाल्ने, एप्रोच रोड बनाउनेलगायतका काम शुरू गरिनेछ ।
मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसीसी मोटरेबल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवागमनमा सहज हुने अपेक्षा गरिएको छ । १ सय ६० मिटर लामो पुल ११ मिटर चौडाइको रहेको छ । यो पुल २०७१ सालबाट निर्माण शुरू गरिएको हो ।
आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रूपमा बलियो र टिकाउ मानिन्छ । लागत समेत कम लाग्ने बताइउको आर्क ब्रिजमा सवारीसाधनले उत्पन्न गर्ने कम्पन शून्यबराबर हुन्छ ।



