‘साना किसान सम्मेलन २०७५’ शुरु | ४४ अर्बभन्दा बढी कृषि क्षेत्रमा लगानी
काठमाडौं, फागुन १६ । ग्रामीण क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आजदेखि राजधानीमा दोस्रो ‘साना किसान सम्मेलन, २०७५’ शुरु गरिएको छ । पहिलो सम्मेलन, २०७१ मा भएको थियो ।
आज राष्ट्रिय शोक परेकाले अनौपचारिक रुपमा सो सम्मेलन शुरु गरिएको हो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्दप्रसाद अधिकारीलगायत सात जनाको ताप्लेजुङको फुङलिङस्थित सिस्नेभीरमा एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटना भई असमायिक मृत्यु भएका कारण आज राष्ट्रिय शोक मनाइएको हो ।
‘साना किसानको समृद्धि कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने मूल नाराका साथ शुक्रबारसम्म सञ्चालन हुने उक्त कार्यक्रममा देशभरका एक हजार २०० साना किसानको सहभागिता छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा शुरु भएको सम्मेलनमा २८ कार्यपत्रमा छलफल गरिने भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि, अन्य लघुवित्त संस्था, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान कृषि सहकारी संस्थाक जिल्ला सङ्घ, साना किसान कृषि सहकारी संस्था लि र समान प्रकृतिका अन्य लघुवित्त संस्थाका पदाधिकारीको कार्यक्रममा उपस्थिति छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सम्मेलनमा कृषिको दिगो विकासका लागि वित्तीय संस्थाको लगानी प्रमुख मुद्दा बनाउनुपर्ने धारणा व्यक्त गरे । मुलुकमा ३४ हजार सहकारी दर्ता भएकामा करीब १० हजार विषयगत कृषि सहकारी संस्था भएपनिर पनि कृषि क्षेत्रमा परनिर्भरता घट्न सकेको छैन ।
झण्डै एक हजार सहकारी संस्थाले नेपालको सात लाखभन्दा बढी विपन्न एवं साना किसानलाई समेटी कूल रु. ४४ अर्बभन्दा बढी कृषि क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले कृषिमा ठूला लगानी आकर्षित नभएसम्म आयात प्रतिस्थापन हुन नसक्ने बताए ।

