शुक्रबारदेखि ठमेलको छायाँ सेन्टरमा जडीवुटी मेला आयोजना गरिदै |
काठमाडौं । आठौं नेपाल हब्र्स एक्स्पो यही फागुन १७ गतेदेखि काठमाडौं ठमेलस्थित छायाँ सेन्टरमा शुरु हुने भएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले जडीबुटीको बजार प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको बताए । फागुन १७ गतेदेखि तीन दिनसम्म चल्ने मेलामा ५० वटा स्टल रहनेछन् । जसमा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका हुनेछन् ।
नेपालको हिमालदेखि तराईसम्म पाइने जडिबुटीको सचित्र जानकारी दिने आकर्षक स्टल मेलाको मुख्य आकर्षण हुने आयोजकले जानकारी दिएका छन् ।
एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादनहरु, १२ वटा प्रमाणिकरण गरिएका अर्गानिक उत्पादनहरु, ५ वटा प्रविधि र गुणस्तर सम्बन्धी जानकारी दिने स्टल हुनेछन् ।
१२ वटामा कस्मेटिक, स्पा र मसाज सम्बन्धी उत्पादन तथा जानकारी, ४ वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पति सहितका विरुवा र फूलहरुका स्टल र परम्परागत रुपमा जडिबुटीको सहायताले गरिने उपचार मेलाका मुख्य आकर्षण हुन ।
आयोजकका अनुसार यो बर्ष फ्रान्स, वेल्जियम, क्यानडा, जर्मनी लगायतका यूरोपेली देश र भारत, बंगालादेश तथा चीन जस्ता छिमेकी मुलुकबाट दुइ दर्जनभन्दा बढीको संख्यामा नेपालको जडिबुटी प्रबद्र्धन तथा खरिदका लागि विभिन्न व्यवसायिक कम्पनीका प्रतिनिधिहरु आउँदैछन् ।
एक्स्पोमा नीति तथा मूल्य श्रृङ्खला, अर्गानिक र निर्यात, प्रविधि र गुणस्तर गरि तीन वटा विषयमा तीनै दिन छलफल कार्यक्रम हुनेछ । छलफलमा सम्बन्धित विषयमा काम गरिरहेकाहरु, विषय विज्ञहरु र सरकारी निकायका प्रतिनिधिहरुले यो क्षेत्रका अवसर, चुनौती तथा सुधार गर्नुपर्ने कुराहरु राख्नेछन् ।
गत वर्षजस्तै एक्स्पोमा आउन चाहने स्कुलका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरिएको छ । हिमालदेखि तराईसम्म पाइने औषधिजन्य र सुगन्धित वनस्पतिहरुको फोटो सहितको विवरण भएका सामग्रीहरु मेलामा हुनेछन् ।



