नेपाली सैनिकका सन्ततिलाई प्रभु बैंकले दिने भो शैक्षिक कर्जा | कर्जा प्राविधिक विषयमा स्नातक र स्नाकोत्तरको पढाइका लागि २५ लाखसम्म पाइने
काठमाडौं । अब नेपाली सेनाका जेहेनदार सन्ततिले प्रभु बैंकबाट शैक्षिक कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष जंगी अड्डाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सैनिक कल्याणकारी कोष जंगी अड्डाको तर्पmबाट उपरथी ताराध्वज पाण्डेले आज मंगलवार हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपाल सैनिक जंगी अड्डाद्वारा सञ्चालित सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिशमा बैंकले शैक्षिक कर्जा उपलब्ध गराउनेछ । कर्जा बहालवाला तथा अवकाशप्राप्त सकल दर्जाका सैनिकहरूका छोराछोरीहरूलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयअन्तर्गत (चिकित्साशास्त्र, इञ्जिनीयरिङ, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकाय) को स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षाका लागि उपलब्ध गराइने बैंकले बताएको छ ।
उक्त सुविधाअन्तर्गतको शैक्षिक कर्जा सहुलियतपूर्ण ब्याजदरमा अधिकतम रू. २५ लाखसम्मको हुने बैंकले जानकारी गराएको छ । बैंकका अनुसार यस्तो सुविधा प्रभु बैंकको मुख्य शाखाकार्यालय तथा आफूलाई पायक पर्ने शाखा कार्यालयबाट लिन सकिने बैंकले बताएको छ ।
यो सम्झौताले नेपाली सैनिकका क्षमतावान एवम् जेहेन्दार सन्ततिहरूलाई उच्च शिक्षा हासिल गर्ने चाहना सहज रूपमा पूरा गराउने बैंकको विश्वास रहेको छ ।
Visited 3 times, 1 visit(s) today


